नेभिगेशन
सुरक्षा विशेष

स्वास्थ्य सुरक्षा: सडकमा फोहर फालेपछि अंकित अल्ट्रासाउन्डलाई जरिवाना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकललाई जरिवाना गराइएको छ । 

भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई सडकमा फोहोर फालपछि ठाउँको ठाउँ ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए। स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि "नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५" बमोजिम जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा.अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली विहान अनुगमनमा गएको थियो ।

यसअघि पनि एक साता अघि मात्रै नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगञ्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ ।

नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेलाई कडा कारबाही गरिने उल्लेख गदै फोहोरविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिएको बताए । उनले जथाभावी फोहोर फाल्ने विरुद्ध निगरानी बढाएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्