काठमाडौं । नेपाल प्रहरीको प्राविधिक एसएसपीबाट डीआईजीमा बढुवा भएका तीन जनाले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक एसएसपीबाट प्राविधिक डीआईजीमा बढुवा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) लाई प्रहरी प्रमुख आईजीपी बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी कुँवरले डीआईजी चिन्हद्वारा सुशोभन भएका तीनै जनालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । आईजीपी कुँवरले भने-"राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको छ।"
कुँवरले नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्याएको सेवाको प्रशंसा गर्दै सपोर्ट समूहले संगठनलाई गतिशीलता प्रदान गर्नुका साथै प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको उल्लेख गरेका थिए । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र विकासमा केन्द्रित रहेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे ।
समारोहमा बढुवा भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक डीआईजी डा. पौडेलले प्राप्त जिम्मेवारीलाई वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रतिष्ठानका प्रमुख एआईजी सुदिप गिरी, सीआईबी प्रमुख दिपक थापा, प्रहरी प्रधान कार्यालयका एआईजी टेकबहादुर तामाङ लगायत डीआईजी तथा वरिष्ठ प्रहरी अधिकारीहरुको तथा अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।