नेभिगेशन
नेपाल प्रहरी

नक्कली यौनजन्य औषधि विक्रीवितरण गर्ने तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं ।  नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्रीवितरण गर्ने कार्यमा संलग्न रहेको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएर भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगास्थित सिद्धिचरण नगरपालिका-४ घर भएर  काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेका छन् । 

यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरू र क्याप्सुलहरू देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लिल विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्व-साधारणमा भ्रम सिर्जना गरी विक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सीआईबीको टोलीले भक्तपुरको गट्ठाघरस्थित स्टोर संचालन गरिरहेको ठाउँबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुर लुभुस्थित वायो फुड्स नेपाल प्रा.लि. नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीका संचालक डिल्ली प्रसादलाई पक्राउ गरेको हो । 

यस घटनाका बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्