काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित प्रहरीले कैलालीबाट मात्रै दुई जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डबाट गएको टोलीए टीकापुर-नगरपालिका-९ खक्रौलाबाट ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित टीकापुर-१ का २१ वर्षीय विशाल शाहीलाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यसैगरी, प्रहरीले कैलाकीकै गोदावरी नगरपालिका-५ गेटाबाट १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-१३ का २३ वर्षीय प्रवीण रानालाई पक्राउ गरेको हो। रानालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो धनगढीको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ। शुक्रबार पक्राउ परेका दुबै जनालाई लागुऔषध मुद्दा मा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
उता पर्साको विन्दवासिनी गाउँपालिका-२ बाट ५ किलो चरेस सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चरेससहित पक्राउ पर्नेमा पटेर्वासुगैली गाउँपालिका-५ निचुटाका ४५ वर्षीय जनार्दन औझईया र भारतको बिहारका ६० वर्षीय गौरीशङ्कर भगत माली रहेका छन्।
उनीहरु दुबै जनालाई प्रहरी चौकी बहुअर्वाभाठाबाट गएको टोलीले महुवनबाट वीरगन्जतर्फ साइकलमा जाँदै गरेको अवस्थामा चरेस सहित पक्राउ गरेको थियो।
यसैगरी, प्रहरीले झापाको मेची पुलबाट ३ ग्राम खैरो हेरोइनसहित उदयपुरको चौदण्डीगढी नगरपालिका-१ घर भएर हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१९ बस्दै आएका २८ वर्षीय जीवन कामीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
खैरो हेरोइनसहित भारतबाट को १२ प ४५७३ नम्बरको मोटरसाइकलबाट नेपाल आउँदै गरेका जीवनलाई मेचीनगर नगरपालिका-६ काँकडभिट्टा मेचीपुलबाट शुक्रबार साँझ इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो।
लागुऔषध खैरो हेरोइन र चरेससहित पक्राउ परेका तीनै जनालाई आबश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।