नेपालगन्ज । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीलाई गुमराहमा राखेर अवैध रुपले गोरु तस्करी बढेको पाइएको छ। जिल्लाको डुडुवा गाउँपालिकाको बककटटी र कम्दी, राप्तीसोनारी गाउँपालिकाको ढलैया क्षेत्रबाट गोरु लोड गरेर तस्करी भइरहेको पाइएको हो।
गएराति ती स्थानबाट लोड गरेर लैजाँदै गरिएका २ ट्रक गोरुलाई सन्चारकर्मी आशिष मल्लको टोलीको समन्वयमा राप्ती सोनारीस्थित शिबखोलास्थित नेपाली सेनाको टोलीले रोकेपछि दिनहुँ बाँके प्रहरी प्रमुखलाई गुमराहमा राखेर अन्य प्रहरी इन्चार्जहरुको मिलेमतोमा गोरु तस्करी भएको खुलासा भएको हो।
बककटटी, कम्दी,ढलैया, बैजापुर, अगैया र कुसुम हुँदै गोरु तस्करी गरेर अन्यत्र लैजानमा त्यस क्षेत्रका प्रहरी इन्चार्जहरुको कडा मिलेमतोकै कारण दिनहुँ ४ देखि ५ ट्रक गोरु तस्करी हुँदै हेटौंडासम्म लगिरहेको पाईएको छ।
गए राति ११ बजेदेखि राजमार्गमै रहेको मल्लको टोलीले ५ वटा ट्रकमा गोरु तस्करी हुन लागेको सूचना कोहलपुर प्रहरीलाई दिएपछि इलाका प्रहरी कोहलपुरले इलाका प्रहरी कुसुमलाई जानकारी गराएको थियो। कुसुम प्रहरीबाट २ जना प्रहरी मोटरसाइकलमा मल्लको टोलीसँगै गएपछि शिबखोलास्थित नेपाली सेनाको सहयोगमा आज एकाबिहानै २ ट्रक गोरु नियन्त्रणमा लिन सफल भएपनि अन्य ३ ट्रक गोरु कुसुम प्रहरीकै मिलेमतोमा फिर्ता भगाइएको मल्लले बताए।
मल्ल भन्छन्- "जुन बाटो हुँदै गोरु ल्याइयो त्यस स्थानका प्रहरी इन्चार्ज सबैको मिलेमतो छ।" उनले भने-'दिनमा ट्रक जादा रोक्ने त्यहाका प्रहरी इन्चार्जले रातिमा त्यसरी गोरु तस्करी भएर लैजाँदा चुप लागेर बस्नुले मिलेमतो भएको प्रष्ट देखिएको छ।'
यता बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले यस्ता घटना हुने गरेको बारेमा आफूलाई केही जानकारी नभएको र आजको घटनाबारे बुझेर दोषी प्रहरी इन्चार्जलाई फिर्ता बोलाएर कारबाही गर्ने बताए।
यस्तो गलत कार्य गर्ने जो कोही प्रहरी भएपनि कारबाहीको दायरामा ल्याउने एसपी कार्की बताउँछन् ।
विशेष सुत्रका अनुसार गोरु तस्करी गरेर लैजाने तस्करहरुले माथि उल्लेखित बककटटी, कम्दी,ढलैया (फत्तेपुर ख चौकी), बैजापुर, अगैया र कुसुम क्षेत्रका इन्चार्जहरुलाई मोटो रकम दिदै आएका छन् ।
नियन्त्रणमा लिइएका दुई वटा ट्रक र गोरुलाई भन्सार पठाउन लागिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी कार्यालय बककटटीमा असई हरिलाल न्यौपाने, कम्दी प्रहरीमा सई मोहन केसी ,ढलैया( फत्तेपुर ख ) मा असई मोहन भडेल, बैजापुर प्रहरी कार्यालयमा सई कमल थापा, अगैयामा पनि असई रहेको र इलाका प्रहरी कार्यालयमा कुसुममा सई मोहन वली इन्चार्ज छन्।
यी मध्ये असई न्यौपाने, सई केसी र सई थापा केही समय अघिमात्रै सरुवा भएर गएका थिए।