रुकुम । उपनिर्वाचन हुने अघिल्लो राति पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। रुकुम पश्चिमस्थित सानोभेरी गाउँपालिकामा मतदाताहरुलाई आफ्नो पक्षमा पार्न पैसा बाँड्दै गरेका १५ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
रुकुम पश्चिम प्रहरीका अनुसार सानोभेरीस्थित घापाघारमा रहेको बसन्त कुसारीको घरमा नेकपा माओवादीका नेता कार्यकर्ताहरुले स्थानीय मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पैसासहित १५ जनालाई पक्राउ गरेको हो।
गएराति पैसा बाँड्दै क्रममा मतदातालाई कुखुरा काटेर रगत भाकल गर्न लगाउदै पैसा दिदै गरेको सूचना पाएर गएको प्रहरी टोलीले पैसा दिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
पैसा बाँड्दै गरेको क्षेत्रमा घेराबन्दी गर्ने क्रममा बुझ्न गएका नेपाली कांग्रेसका ३ जना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ भने उक्त क्षेत्रबाट आठबीसकोट नगरपालिका-१२ का वडाध्यक्ष खम्बे कुसारीको सरकारी मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले भने आज बिहानै पक्राउ परेका सबै जनालाई रिहा गरिएको बताइएको छ। पक्राउ परेकाहरुमध्ये केही मतदानका एजेन्ट पनि भएकाले उनीहरुलाई छोडने क्रममा सबैलाई रिहा गरिएको बताइएको छ।
स्रोत भन्छ, ‘डीएसपी पोखरेलले निर्वाचन अधिकृतलाई उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको भनी ब्रिफिङ गरेपछि छुटेका हुन् । मौन अवधिमा पैसा बाँड्नु गम्भीर अपराध हो । तर डीएसपीले ढापछोप गरे।' नियन्त्रणमा लिइएको ७८ हजार रुपैयाँ पनि फिर्ता दिइएको थियो ।
निर्वाचनमा नेपाली कांग्रेसबाट मोतीराम खत्री र माओवादीबाट जसिराम बस्नेत उम्मेदवार रहेका छन् ।