नेभिगेशन
अदालत

सहकारी ठगी प्रकरण: पूर्व गृहमन्त्री रवि लामिछानेको आज पनि बयान जारी रहने

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेसँगको बयान आज पनि जारी छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आज पनि जारी रहँदै छ ।

शुक्रबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज सरकारी वकिलको कार्यालय लगिए पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएको हो ।

बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आजसम्म काठमाडौँमा नै रहने छन् । बयान सकिएपछि सम्भवतः आजै पोखरा फर्काइने छ ।

शुक्रबार बिहानदेखि शुरू भएको बयान सो दिनको अपरान्ह ३ः३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजो उनले झन्डै ५ घन्टा लामो बयान दिएका थिए ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौँस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौँ ल्याइएको हो ।

स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् । 

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ। 

यसअघि उनका पार्टनर पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ।

पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालीमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जीबी राई भने फरार छन् । 

अहिले सहकारी ठगीबाहेक जीबी, रवि र छविलगायतविरूद्ध चार वटा कसूर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानूनी व्यवस्थाले फरार जीबी बाहेक रवि–छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।

मुख्यतयाः अहिले जीबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । काठमाडौँ, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जीबी, रवि र छवि जोशी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्