नेभिगेशन
अदालत

काठमाडौंमा रवि लामिछानेको बयान सकियो, सोधिएको थियो ७४ प्रश्न

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको काठमाडौँको बयान सकिएको छ । शुक्रबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आइतबार र सोमबार सरकारी वकिलको कार्यालय लगेर बयान लिइएको हो । 

तीन दिनमा ७४ प्रश्न सोधेर उनको काठामडौँको बयान सकिएको हो । बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान सकिएसँगै अब चितवन लैजाने बताइएको छ ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौँस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा बयान लिन काठमाडौँ ल्याइएको थियो ।

स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् । 

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ। 

यसअघि उनका पार्टनर पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ।

पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालीमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जीबी राई भने फरार छन् । 

अहिले सहकारी ठगीबाहेक जीबी, रवि र छविलगायतविरूद्ध चार वटा कसूर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानूनी व्यवस्थाले फरार जीबी बाहेक रवि–छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।

मुख्यतयाः अहिले जीबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । काठमाडौँ, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जीबी, रवि र छवि जोशी छन् ।

रविले कास्की, रुपन्देहीमा बयान दिइसकेका छन् भने अब चितवनको सहारा सहकारी ठगीका बारेमा बयान लिन चितवन लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।त्यस्तै उनीवरुद्ध पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको जनाइएको छ । पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकमसमेत अपचलन भएको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्