काठमाडौं । सोमबार नेपाल प्रहरीतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ८ डीईजीले दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरीभित्र २० जना एसएसपीको दरबन्दी रिक्त भएको छ।
प्रहरी संगठनभित्र २० जना एसएसपीको दरबन्दी रिक्त हुँदा अब एसएसपी बढुवाका लागि अहिले वि.सं. २०५६ र २०५८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका दर्जनौं एसपीहरुबीच प्रतिस्पर्धा भइरहेको छ।
केही दरबन्दी रिक्त हुँदा प्रहरीभित्र आफ्नै ब्याजी र कनिष्ठले समेत चलखेल गर्ने देखिदै आएको यसपटक भने २०५६ सालमा भर्ना भएर यसअघि बढुवा हुन नपाएका ६ जना एसपी पनि प्रतिस्पर्धामा रहेका छन् । २०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलबाल, विमलराज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजिव बस्नेत पनि प्रतिस्पर्धामा छन् ।
ती ६ जना भने २०५६ सालमा भर्ना भएतापनि उनीहरु २०५८ कै टोलीसँगै एसपीमा बढुवा भएका थिए। वि.सं. ०५८ मा भर्ना भएका ८९ जना ५ लटमा एसपीमा बढुवा हुँदा २०७५ फागुन ३ गते पहिलो लटको बढुवामा ०५६ का अधिकारी, सिलवाल र कँडेलसँगै उनीहरु बढुवा भएका थिए।
२०५६ मा भर्ना भएका कार्की, सिंह र बस्नेत भने २०५८ को टोलीको दोस्रो लटमा २०७७ बैशाख महिनामा एसपी भएका थिए। यसैकारण, अहिले २०५६ र २०५८ कै टोलीबीच बढुवामा प्रतिस्पर्धा हुने स्पष्ट छ।
वि.सं. २०५८ भएकाहरुमध्येको पहिलो नम्बरका एसपी रमेश थापासँगै बढुवा भएका प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी , अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपी बढुवाका लागि प्रतिस्पर्धामा रहेका छन् । यसैगरी, केदार खनाल, दीपेन्द्र शाहीको सम्भावना पनि बलियो रहेको जनाइएको छ ।
यद्यपि कमल थापा भने हनि ट्रयापिङ विवादमा परेपछि उनी बढुवामा छुट्ने सम्भावना बढेको छ ।
अहिलेको रिक्त रहेको २० जनाको एसएसपीको दरबन्दीमा रमेश थापाहरु भन्दा पछाडि २०७७ बैशाखमा एसपीमा बढुवा भएका २०५८ मै भर्ना भएकाहरु पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।
२०७७ बैशाखमा एसपीमा बढुवा भएका २०५८ का होमिन्द्र बोगटी, बेद बिष्ट, दयानिधी ज्ञवाली, सन्तोषसिंह राठौर, शान्तिराज कोइराला, सन्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला लगायतका अन्य एसपी पनि प्रतिस्पर्धामा छन् ।