चितवन । पूर्व गृहमन्त्री रवि लामिछानेको आज पनि चितवनमा बयान जारी छ। सहकारी ठगीसहित चार ओटा आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेको चितवनमा बयान जारी रहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान आज बिहान ९ बजेबाटै शुरू भएको हो । मंगलबार अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि बयान नसकिएपछि आज पनि बयान लिइएको हो ।
सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुँदै चितवनमा बयानका लागि मंगलबार लगिएको थियो ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीवाट रकम लगेको आरोप छ । सोही सिलसिलामा उनी गत कार्तिक २ गतेदेखि हिरासतमा रहेका छन् ।
जीबी राई संलग्न चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको थप आरोप उनीमाथि छ । जजसको बयानका लागि उनलाई काठमाडौंबाट चितवन ल्याइएको हो ।
गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसिरमा हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
उनलाई पर्सा जिल्लाले पनि पक्राउ पुर्जी जारी गरी बयानका लागि पर्सा लैजाने सम्भावना छ ।