काठमाडौं । नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरिदमा प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले तत्कालिन नेपाल वायु सेवाका अध्यक्ष सहित ४ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतले विहीबार अवेर फैसलाको संक्षिप्त आदेश गर्दै तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।
अदालतले १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको ठहर गर्दै दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा भनेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार भ्रष्टाचार भएको निष्कर्षमा अदालत पुगेको छ।
विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले आरोपपत्रमा दावी गरेकै अंक भ्रष्टाचार भएको ठहर भएको यो दुर्लभ घटना हो । विशेष अदालतले कसुरदारहरूबाट दामासाहीले बिगो असुल्ने फैसला गरेको छ ।
वाइडबडी खरिदको भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई भने अदालतले सफाइ दिएको छ। उनी कर्णाली प्रदेशका सांसद पनि हुन्।
चार जना मात्र दोषी ठहर भएपछि शाहीसहितले सफाइ पाएका हुन्। विशेष अदालतले विमान खरिदमा भएको भन्दै आंशिक ठहर गर्ने फैसला सुनाएको हो।
विशेष अदालतले सफाइ दिएपछि शाहीको निलम्बन फुकुवा भएको छ। तत्कालीन मुख्यमन्त्रीको रूपमा हेरिएका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए।