नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ५ प्राविधिक एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्राविधिक एसएसपीले दर्ज्यानी चिन्ह पाएका छन् ।  मंसिर २१ गतेको निर्णयअनुसार प्राविधिक एसपीबाट प्राविधिक एसएसपीमा बढुवा भेका  ५ जना एसएसपीलाई प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

आईजीपी कुँवरले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच डा.केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डललाई एसएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

दर्ज्यानी चिन्ह प्रदान गर्दै कुँवरले एसएसपीको दर्ज्यानी चिन्ह लगाएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको सेवा, कार्यदक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादा बढ्दै जाने हुँदा पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।

कुँवरले नेपाल प्रहरीमा रहेका विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै नेपाल प्रहरीले प्रदान गर्ने प्राविधिक सेवालाई थप व्यावसायिक, परिष्कृत, सुदृढ र प्रभावकारी बनाउन पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र समुन्नतीको लागि केन्द्रित गरेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप प्रेरित हुने विश्‍वास प्रहरी प्रमुख कुँवरको छ।

बढुवा भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक एसएसपी डा. खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्ने जनाएका थिए।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रमम प्रहरीका एआईजीहरु,डीआईजीहरु तथा उच्च प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्