घोराही । जिल्ला प्रहरी कार्यालय दाङले सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारबिरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ।
दाङ प्रहरीले “लैंगिक हिंसाबिरुद्ध १६ दिने अभियान” अन्तर्गत आज घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित घोराही वसपार्कमा सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारबिरुद्ध बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम गरेको हो।
कार्यक्रममा जिल्ला प्रहरी दाङकी प्रहरी निरीक्षक शारदा उप्रेतीले सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध नेपाल प्रहरीको 'सेफ्टि पिन' अभियानको परिचय, यौनजन्य दुर्व्यवहार हुन सक्ने कारण र अवस्था, यौनजन्य दुर्व्यवहार सम्वन्धी कानूनी प्रावधान, प्रहरीलाई खवर गर्ने माध्यम लगायत विषयमा सचेतनामूलक जानकारी दिएको दाङ प्रहरीले जानकारी दिएको छ।
त्यस्तै उक्त सचेतना कार्यक्रममै सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालना, आरक्षण सिटको कार्यान्वयन, यात्रामा यातायात व्यवसायी तथा यात्रुहरुले भोग्नु परेको समस्या र त्यसको समाधान लगायत विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो।
सचेतना कार्यक्रममा ट्राफिक प्रहरी, प्रहरी, विभिन्न यातायात समितिका प्रतिनिधिहरु, यातायात व्यवसायी, सवारी चालक तथा सहचालकहरु, यात्रु तथा स्थानीय नागरिकहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।