नेभिगेशन
अदालत

सहकारी ठगी: रवि लामिछानेसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्ने अनुमति पाएको छ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारै जना थप चार दिन हिरासतमै रहने भएका छन् कास्की जिल्ला अदालतले रविसहित चारै जनालाइ थप ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि आज बिहान १० बजे नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो। रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनालको म्याद थप भएको हो ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा १५ दिन म्याद थप भएको थियो ।

यसबीचमा बयानका लागि उनलाई रुपन्देही, काठमाडौँ र चितवनसमेत पुर्याइएको थियो । बयानमा क्रममा सोधिएका उनले इन्कारी जवाफ दिएको बताइन्छ । उनलाइ अब पर्सा लैजाने तयारी छ । 

यता पूर्व डीआईजी जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई सातौँ पटक चार दिन म्याद थप भएको हो ।

यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले आज चार दिन म्याद थप गरिदिएको छ । 

सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो । केही दिन अघि कृष्ण गुरुङलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्