नेभिगेशन
नेपाल प्रहरी

काठमाडौंसहित देशका विभिन्न स्थानमा ७ जना मृत फेला

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानबाट ७ जनाको मृत शव फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरी भांगाह नगरपालिका-४ घर भएर काठमाडौं महानगरपालिका-१४ बल्खु बस्दै आएका  ६५ वर्षीय लाल बहादुर श्रेष्ठ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । 

त्यस्तै  काठमाडौं-२४ नरदेवीस्थित पसरननी चोकमा पनि पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। 

गण्डकी प्रदेशको बाग्लुङ जिल्लाको वरेङ गाउँपालिका-३ चाँदास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-४ सल्यान बस्ने ६३ वर्षीया यमसरी दमाईको शव फेला परेको हो।

त्यसैगरी, मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका-३ छुरिगाउँकी ५० वर्षीया शर्मिला डिम्डुङगको शव सोही गाउँपालिकाको वडा नम्बर ४  पौवा खोलामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  रौतहटको देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनिया टोलमा रहेको लाल बकैया खोला नजिक खाल्डोमा जमेको पानीमा बौधीमाई नगरपालिका-५ कोप्वा टोल बस्ने शेख मनाउल्लाहकी ६ वर्षीया छोरी शबाना खातुन र  ३ वर्षीय छोरा अबदुल रहमान मृत अवस्थामा फेला परेका थिए। 

त्यस्तै बुटवल उपमहानगरपालिका-११ देवीनगरको हाटबजार लाग्ने ठाँउमा पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ भने संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-१० हात्तिसुडेका ४८ वर्षीय सूर्य बहादुर दर्जी सोही ठाउँको आफ्नै बारीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी प्रधान कार्यालयले फेला परेका ७ वटा शवको घटनाको बारेमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अनुसन्धान गरिरहेको र पहिचान नखुलेका शवको बारेमा जानकारी लिन प्रहरी परिचालन गरिएको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्