नेभिगेशन
नेपाल प्रहरी

दुबई भन्दै कुवेत लगेर महिलालाई बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुबई भन्दै कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र सोही स्थानकै माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङलाई फ्री भिसा र फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ परेका दुई जनाले ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याइएर बेचेको ब्यूरोले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

ती महिलालाई कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिदै गर्दा ती कुवेती नागरिकको घरबाट भागेर महिला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।  ४ मंसिर २०८० मा नेपाल फर्केर प्रहरीमा जाहेरी दिएको आधारमा ती दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्