काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पर्साबाट कास्की लैजाने तयारी गरिएको छ। सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेर अनुसन्धान हुँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई कास्की फर्काउने तयारी गरिएको जिल्ला प्रहरी पर्साले जानकारी दिएको छ।
यता जिल्ला प्रहरी कास्कीले चाँडै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। अब रवि र जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ।
काठमाडौंबाट गत कात्तिक २ गते कास्की जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका रविमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरीको हिरासतमा रहदै गरेको अवस्थामा रविलाई सुरुमा रुपन्देही,काठमाडौं र चितवनमा सहकारी ठगी मुद्दाको बयानका लागि लगिएको थियो । सोमबार काठमाडौं हुँदै सिमराबाट पर्सा लगिएका रविको मंगलबार सरकारी वकिल कार्यालय पर्सामा बयान लिइएको थियो।
ती जिल्लामा पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप रविमाथि छ ।
बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो ।
बयानका क्रममा रविलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो ।
कास्की जिल्ला अदालतले यसअघि रविलाई पहिलोपटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपटक ४ दिन म्याद थप गरेको थियो ।