नेभिगेशन
सशस्त्र प्रहरी

गढीमाई मेलामा एसपीको कमाण्डमा ५ सय सशस्त्र प्रहरी परिचालन

बारा।  गढीमाई मेलामा ५ सय जना सशस्त्र प्रहरी परिचालन भएका छन् । बारा जिल्लाको महागढीमाई नगरपालिका-१  गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ  ५ सय जना सशस्त्र प्रहरीलाई २४ सै घण्टा परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 यही मंसिर १ देखि मंसिर  ३० गतेसम्म लाग्ने मेलाका लागि सुरक्षित एवं भयरहित तरिकाले सम्पन्न गर्न सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराबाट सशस्त्र प्रहरीका एसपी  सन्तोष बहादुर सिंहको कमान्डमा ५ सय सशस्त्र प्रहरीको टोली परिचालन भएको प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरीका डीएसपी रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थमा  कमान्ड पोस्ट स्थापना गरिएको छ । 

त्यस्तै उक्त मेलाको सुरक्षार्थ दुई वटा तालिम प्राप्त डगसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी मेलाको भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि अप्रिय घटना नघटोस् भनी विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

मेलामा ठुलो मात्रामा भक्तजनहरू आउने हुँदा मेला सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। उक्त मेलमा ठुलो संख्यामा नेपाल प्रहरी पनि परिचालन गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्