नेभिगेशन
सशस्त्र प्रहरी

अवैध तस्करी हुँदै गरेको ४४ लाख रुपैयाँँको अवैध सामाग्री सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट ४४ लाख रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जका डीएसपी सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उक्त रकम बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार टोलीले मंसिर २९ गते वीरगन्ज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको हो। त्यसैगरि सोही ठाउँस्थित एक घरमा राखिएको अवस्थामा गोदाममा छापा मारेर १ हजार ६ सय २७ पिस कुर्ता सुरुवाल, २ हजार ७ सय ६८ पिस सल र १ हजार ७ सय २८ पिस स्काफ, लेडिज व्याग तथा कस्मेटिक सामानहरु बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यसैगरी सोही महानगरपालिका–१६ स्थित ईनर्वा तथा अन्य नाकाहरुबाट १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानहरुसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको  छ भने भारतबाट अबैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाईलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाईल, मोबाईल एसोसेरिज र लत्ताकपडा सोही गुल्मले मंसिर ३० गते बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार अवैध सामाग्री ल्याउने व्यक्तिहरु भने गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएका थिए । बरामद गरिएका सबै अवैध सामाग्रीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्