पोखरा । पोखराको लेखनाथमा रहेको ईलाका प्रशासन कार्यालयमा सामी परियोजनाअन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाले समेत सेवा लिन सक्ने गरी लेखनाथमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो ।
केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजना मार्फत सरकारले प्रभावकारी कार्य गर्दै आइरहेको छ ।
उक्त केन्द्रको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साललगायतले शुभारम्भ गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवर्द्धनमा लागिरहेको बताए । वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक तालिम र परामर्शका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले बताए ।
विभिन्न अवधिका तालिमका कक्षा सञ्चालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको उनले स्पष्ट पारे ।
वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिकरूपमा आउने समस्या र गुनासाको सुनुवाई तत्कालै गर्ने गरिएको जानकारी दिए। वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा प्रशासन लागिरहेको उनले बताए ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुंगानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए ।
सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड दिइन् ।