नेभिगेशन
ट्राफिक प्रहरी

लुम्बिनी प्रदेशभर ३५ हजार बढी सवारीसाधन कारबाहीमा, झण्डै साढे ४ करोड राजस्व संकलन

सौरभ गिरी/बुटवल लुम्बिनी प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने ३५ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् ।नेपाल प्रहरी  राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार चालू आर्थिक वर्षको असोज १ गतेदेखि मंसिर मसान्तसम्ममा प्रदेशभरका १२ वटै जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३५ हजार ५०५  सवारीसाधन कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गरेर चलाएका सवारीसाधनबाट ४ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी १० हजार ५३० सवारीसाधन कारबाहीमा पर्दा १ करोड ४७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो भने अर्घाखाँचीमा सबैभन्दा कम सवारीसाधन कारबाहीमा परेका छन् । अर्घाखाँचीमा ५९६ कारबाहीमा पर्दा  ७ लाख २४ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

सवारीसाधन कारबाही अन्तर्गत पश्चिम नवलपरासीमा २१ सय ४५ सवारीसाधन कारबाहीमा परेका छन् भने त्यहाबाट २६ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी कपिलवस्तुमा १८ सय ८९ सवारीसाधन कारबाहीमा पर्दा २४ लाख ४१ हजार जरिवाना वापतको राजस्व संकलन गरिएको छ। पाल्पामा ११ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले १४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

त्यसैगरी, गुल्मीमा १२ सय ९४ सवारीसाधनलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले १० लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो। जिल्ला ट्राफिक प्रहरीले  दाङमा ४९ सय २१ सवारीसाधनलाई  कारबाही गर्दा ५५ लाख ६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको हो।

ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई गरिएको कारबाहीमा लुम्बिनी प्रदेशमा बाँके दोस्रोमा रहेको छ। बाँकेमा ८३ सय ९५ सवारीसाधनलाई कारबाही गरिएको छ। जसमा ट्राफिक प्रहरीले ७३ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ। बर्दियामा पनि ट्राफिक प्रहरीले १७ सय १० वटा सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

यस्तै प्यूठानमा ९ सय ९० सवारीसाधनलाई गरिएको कारबाहीमा १० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ भने क्रमशः रोल्पा र पूर्वी रुकुममा ११ सय ५२ र ६२५ सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले १३ लाख ४१ हजार ५ सय र ७ लाख ४१ हजार रुपैयाँँ राजस्व संकलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

त्यस्तै, गत असोज १ देखि मंसिर मसान्तसम्ममा भएका ३७८ सवारी दुर्घटनमा परी १४४ जनाको मृत्यु भएको छ। जसअन्तर्गत रुपन्देहीमा  भएको ७३ दुर्घटनामा  २६ जनाको मृत्यु भएको छ भने  पश्चिम नवलपरासीमा ४३ दुर्घटनामा १४, कपिलवस्तुमा ५७ वटा दुर्घटनामा २१, पाल्पामा भएको १२ दुर्घटनामा  ६ जनाको मृत्यु भएको थियो।  गुल्मीमा ८ दुर्घटनामा  २ र अर्घाखाँचीमा ५ दुर्घटनामा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। 

त्यसैगरी, ६६ सवारी दुर्घटनाबाट दाङमा २५ जनाको मृत्यु हुँदा बाँकेमा ५३ सवारी दुर्घटनाम १९ ,बर्दियाको ४४ दुर्घटनाबाट १५, प्यूठानमा ७ दुर्घटना हुँदा २, रोल्पामा भएको ९ दुर्घटनाम  ५ जनाको मृत्यु हुँदा पूर्वी रुकुममा भएको एउटा दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने प्रदेशभर सवारी दुर्घटनाबाट उक्त अवधिमा २७८ जना गम्भीर घाइते हुँदा ३०८ जना साधारण घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले प्रदेशभरमा २७ सय ६ पटक दिइएको  जनचेतनामूलक कार्यक्रमतर्फ १ लाख १९ हजार १४८ जना सहभागी भएका थिए।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्