नेभिगेशन
नेपाल प्रहरी

बाँकेसहित देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।जसअन्तर्गत प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१५ बाट प्रतिवन्धित औषधि ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पासपेन २ हजार १ सय ५० ट्याब्लेट सहित दुई जनालाई मंलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका ३१ वर्षीया काजल तामाङ (लिम्बु) र सोही उपमहानगरपालिका-७ कै २२ वर्षीय एलेन राई रहेका छन् । 

उनीहरु दुबै जनालाईअस्थायी प्रहरी पोष्ट बरगाछी र अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले हर्क बहादुर तामाङको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी हर्क बहादुरकी छोरी काजलसमेत दुई जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट १ ग्राम १ सय मिलिग्राम खैरो हेरोइनसहित सुनसरी इटहरी उपमहानगरपालिका-१७ का २८ वर्षीय संजिव दंगाल समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहराका २७ वर्षीय भक्तु रानालाई ८ सय ६० मिलिग्राम  ब्राउनसुगर  सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१० चारबाहिनी चोकबाट १९ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर  सहित सोही उपमहानगरपालिका-१६ का ३९ वर्षीय ईरसाद अलीलाई मंलगबार दिउँसो बाँके प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ४० वाइ ८५८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त ब्राउन सुगर सहित पक्राउ गरेको थियो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्ती बस्ने ३३ वर्षीय चन्द्र बहादुर गोलेलाई अवैध लागूऔषध ५ किलो गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

झापाको झापा गाउँपालिका-४ बाट १ ग्राम ६७० मिलिग्राम  ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम ब्राउन सुगरसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजबंशी र २८ वर्षीय सुनिल साह रहेका छन् । इलाका प्रहरी कार्यालय कुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सम्बन्धित जिल्ला प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्