तुलसीपुर। दाङको घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ। बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले आज बिहानैदेखि सडक अवरुद्ध पारेका छन् ।
शुक्रबार घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत गुर्जेखोला नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १० का ४४ वर्षका दिलिप केसीको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नंम्बरको मोटरसाईकल घोराही–१० गुर्जेखोलामा एकआपसमा ठोक्किदा केसीको मृत्यु भएको हो । दुर्घटनामा केसीको मृत्यु भएपछि आफन्तले उचित क्षतिपुर्ती र दोषीलाई कार्बाहीको मागसहित सडक अवरुद्ध गरेका हुन् ।
बस पल्टिँदा बसमा सवार ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा रोल्पा त्रिबेणी गाँउपालिका ४ का २८ वर्षका बीर बहादुर डाँगी, राप्ती गाउँपालिका ५ का ३१ वर्षका प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डी बस्ने ४५ वर्षका देवा बिक, तुलसीपुर–१६ बस्ने ५४ वर्षका सिता कुमारी अधिकारी, तुलसीपुर–१९ बस्ने ३८ वर्षका तुलसा खड्का रहेका छन् ।
यस्तै घोराही–९ बस्ने ६० वर्षका बल बहादुर डाँगी, घोराही– ५ बस्ने २४ वर्षका साबित्रा बस्नेत, घोराही– ३ बस्ने ३४ वर्षका राम सिंह चौधरी, घोराही–१२ बस्ने ३७ वर्षका नर बहादुर वली, घोराही– ९ बस्ने २२ वर्षका सिता बिश्वकर्मा र घोराही–१५ बस्ने २४ वर्षका दिप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी इश्वर थापाले जानकारी दिए ।
घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ सवार जना सवार रहेका थिए ।प्रहरीले बस चालक घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने ५३ वर्षका गोपाल बिकलाई नियन्त्रणमा लिएको छ जनाएको छ।