काठमाडौं । नेपाल प्रहरीले बाँकेसहित देशका विभिन्न स्थानबाट लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियाबाट खैरो हेरोइन १ ग्राम ६ सय ६० मिलिग्रामसहित चुरे गाउँपालिका-५ बस्ने २४ वर्षीय यज्ञ प्रसाद कँडेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध ६० मिलिग्राम खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले महोत्तरीस्थित सम्सी गाउँपालिका-१ स्थित मर्धटोल जाने बाटोबाट १० किलो गाँजा सहित सोही ठाउँका १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पर्सादेवाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस्तै कास्कीको पोखरा महानगरपालिका-२ धारापानी बस्ने २१ वर्षीय अतित थापा मगरलाई प्रहरीले नियन्त्रित लागूऔषध ५ पिस फेनारगन तथा ५ पिस एम्पुल, ५ पिस ब्रुफिन र ३ सय ग्राम गाँजाको धुलो सहित शुक्रबार दिउँसो पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरीकै धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने २६ वर्षीय महेश राई र उनकै भाइ २३ वर्षीय मनिस राईलाई ट्रामाडोल २० हजार क्याप्सुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ अमहा-सिमसारस्थित सडकबाट ट्रामाडोल १ सय ५८ पिस, स्पास्पेन ५८ पिस र स्पासरेस्ट १ सय पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-७ बस्ने २१ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले सुनसरी पुलबाट अमहा सिमसारतर्फ जाँदै गरेको को.१० प १२४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१६ नौलो बस्ती बस्ने ३२ वर्षीय रूबिन खड्का र २२ वर्षीय साहिल मगरलाई लागूऔषध सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले रूबिनलाई ट्रामाडोल १ सय २० क्याप्सुल र स्पास्पेन १ सय २० ट्याब्लेट तथा साहिललाई ट्रामाडोल ८० क्याप्सुल र स्पास्पेन ७० ट्याब्लेट सहित पक्राउ गरेको हो । प्रहरीले सुनसरीकै देवानगंज गाउँपालिका-७ बाट अवैध २० किलो गाँजा सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंग गाउँपालिका-२ बस्ने २४ वर्षीय अवास अंसारी र २६ वर्षीय रिजुवान अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले बिआर ८० एबि ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
प्रहरीले मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध ५ ग्राम ब्राउनसुगर सहित २ जनालाई शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१ चाईनाक्वाटर बस्ने २७ वर्षीय सनिप भोम्जन र सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय बिशाल क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना.३५ प ५८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ मकालु होटल नजिकबाट ८९ ट्याब्लेट ट्रामाडोल र नाईट्राजेपाम ८ ट्याब्लेट सहित ३ जनालाई आज बिहान जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय अजिब ध्वोज खत्री, २३ वर्षीय दिपेन्द्र खत्री र बाँकेको राप्ती सोनारी गाउँपालिका-६ अगैया बस्ने २३ वर्षीय रमेश थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी बाँकेकै नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्राबाट २५० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पेशकर खटिक र सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३० वर्षीय सुरेन्द्र लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरलाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
सम्बन्धित जिल्ला प्रहरीले पक्राउ परेकाहरुँग थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।