रबिन्द्र यादव / पश्चिम नवलपरासी । सिमावर्ती समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल पश्चिम नवलपरासीले सुस्ता गाउँपालिका वडा नं ५ महलबारी स्थित पक्लिहवा क्षेत्रमा ४२२ जनाको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी निशुल्क वितरण गरेको छ ।
सशस्त्र प्रहरी बल नं. २६ गण बेलासपुर पश्चिम नवलपरासीका अनुसार शिविरमा १५५ जना महिला र २६७ जना पुरुषको स्वास्थ्य परिक्षण गरिएको थियोे ।
सशस्त्र प्रहरी पश्चिम नवलपरासीले सुस्ता गाउँपालिकाको समन्वय तथा देवदह मेडिकल कलेज र लायन्स क्लब अफ बुटवल शुभारम्भको संयुक्त आयोजनामा संचालन गरिएको यो शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागीता रहेको थियोे ।
सशस्त्र प्रहरी बलका चिकित्सक,देवदह मेडिकल कलेजका चिकित्सक र बर्दघाट डेन्टल क्लिनिकका संयुक्त टोली परिचालन गरि शिविरमा जनरल फिजिसियन महिला तथा प्रसुति,छाला,हाड नसा तथा दात सम्बन्धि रोगको परामर्श,उपचार र निशुल्क औषधी वितरण गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेका अनुसार सशस्त्र प्रहरी बलले सिमावर्ती बासिन्दाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै यस प्रकारका कार्यक्रमहरु संचालन गर्दै आएको छ । उनले भने, " यस स्वास्थ्य शिविरले सिमावर्ती क्षेत्रका बासिन्दालाई आधारभुत स्वास्थ्य सेवामा पहुँच पुर्याउने तर्फ महत्त्वपूर्ण योगदान पुर्याएको छ । "
शिविरमा सहभागीहरुले सामान्य स्वास्थ्य परिक्षण,परामर्श र निशुल्क औषधी प्राप्त गरेका थिए । सहभागीहरुको प्रतिक्रिया अनुसार यस्ता शिविरले सिमावर्ती बासिन्दाहरुलाई ठुलो राहत मिलेको छ । सशस्त्र प्रहरीले स्वास्थ्य,शिक्षा र सामाजिक सुरक्षामा सिमावर्ती क्षेत्रका बासिन्दालाई सहयोग पुर्याउने उदेश्यले यस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।
स्वास्थ्य शिविरका प्रमुख अतिथि जिसस का प्रमुख भगौती प्रसाद यादव (रुदल) र सुस्ता गाउँपालिका अध्यक्ष टेक प्रसाद उपाध्यायले सशस्त्र प्रहरीको यो प्रयास प्रति आभार प्रकट गर्दै यसलाई निरन्तरता दिनमा सुझाव दिएका थिए । यसप्रकारका शिविरले सिमावर्ती क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्था सुधार गर्न र उनिहरुको जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।