पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता हुँदैछ । सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेक पूर्व गृहमन्त्री लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो ।
चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो ।
कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आजसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
आज मुद्दा दर्ता भएन भने उनले सफाइ पाउने छन् । मुद्दा दर्ता भए उनलाई हिरासतमै राखेर कारबाही प्रकिया अगाडि बढाउने कि तारेखमा राखेर गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।