काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले पत्राचार गरेको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाउन प्रहरीले पत्राचार गरेको हो।
आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई लाई पठाएको हो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ ।
ऐन भन्छ, ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’
अब सभामुखले उक्त पत्र पाएपछि सांसद पद निलम्बन भएकोबारे जानकारी गराउनेछन् । यतिबेला प्रतिनिधि सभा बैठक नचलिरहेको अवस्थामा संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेर जानकारी दिन सक्नेछ ।
रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी रास्वपा संसदीय दलको नेतासमेत हुन् ।
यसअघि उनी दोहोरो नागरिकतामा परेसँगै सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएर फेरि चुनाव जितेर सांसद भएका थिए ।