नेभिगेशन
अदालत

कास्की अदालतमा रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पोखरा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ। जिल्ला अदालत कास्कीमा ३ वटा कसूरमा आइतबार मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री  लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुन लागेको हो । उक्त थुनछेक बहस पेसीमा तोकिएपछिमात्रै सुरु हुनेछ । 

पेसी गोलाप्रथाको आधारमा हुनेछ । जिल्ला अदालत कास्कीमा ६ जना न्यायाधीश छन् । गोलाप्रथाबाटै उनको मुद्दा कसको भागमा पर्ने भन्ने छिनोफानो हुनेछ ।

गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविमाथि ३ कसूरमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्नसमेत माग गरेको छ। लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद गत शुक्रबार सकिएको भए पनि शनिबार सार्वजनिक बिदाका कारण आइतबार मात्रै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

लामिछानेका कानून व्यवसायी, जाहेरवालाकर्ताका कानून व्यवसायी र सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयले बहस गर्नेछन् । 

बहस सकिएपछि मात्रै उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने अथवा सामान्य तारेखमा छोड्ने भन्ने आदेश आउनेछ । सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध पौने २८ करोड रुपैयाँ बढी बिगो माग दाबी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्