नेभिगेशन
नेपाल प्रहरी

अवैध लागुऔषधसहित ९ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं नेपाल प्रहरीले बाँकेसहित देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका- ४ शिलाफलबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ६५ ट्याबलेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक खड्गीलाई आइतबार दिउँसो पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलालीको  धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट पनि खैरो हेरोइन १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ शर्मा टोल बस्ने २५ वर्षीय देव शर्मा समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी चितवनको रत्ननगर नगरपालिका-८ बाघमाराबाट ५ सय ग्राम  गाँजा तथा नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्टागन २० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-१३ बस्ने ३२ वर्षीय शरण राज अधिकारी र सोही नगरपालिका-५ बस्ने २७ वर्षीय सबिन सापकोटा रहेका    छन् । अस्थायी प्रहरी पोष्ट मैनाहबाट खटिएको प्रहरीले बा.प्र.०३-००२ प ६३१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शरण र पछाडि सवार सबिनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले दाङको घोराही उपमहानगरपालिका-१४ मिलनचोकबाट  ब्राउनसुगर ८ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने झापा बिर्तामोड नगरपालिका-१ घर भएकी २२ वर्षीया पुजा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ भने 

मोरङको धनपालथान गाउँपालिका-४ ललियाधारस्थित सडकबाट  खैरो हेरोइन २५ ग्राम सहित सोही गाउँपालिका-३ सोह्रभाग बस्ने ३५ वर्षीय दिपेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा प्रहरीले उनको घर तलासी गर्दा थप ३५ ग्राम १ सय मिलिग्राम खैरो हेरोइन  फेला पारी बरामद गरेको छ। 

 यस्तै सुनसरीको धरान उपमहानगरपालिका-११ बस्ने ४२ वर्षीया उषा लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१६ अन्नपूर्णचोकस्थित उनको चियापसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ भैस्टाबाट ब्राउनसुगर  ७ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय अकवल अलिलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय अनुसार सम्बन्धित जिल्ला प्रहरीले पक्राउ परेकाहरुँग थप अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्