पोखरा । ३ वटा कसूरमा मुद्दा लागेका निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । उनीमाथि आइतबार तीन कसूरमा मुद्दा चलाइएको थियो ।
थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन ल। कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
उनीमाथि तीन कसूरमा मुद्दा दर्ता भएसँगै सांसदबाट निलम्बन गरिएको छ ।
सरकारी वकिलको कार्यालय कास्कीले रवि, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागिमात्र प्रतिवादी कायम गरिएको छ ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।
लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अभियोग पत्र दर्ता गरिएको छ ।
गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो । १८ असोज २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिए पनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसूरमा तथा जीबी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसूरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।
रवि लामिछाने र जीबी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनी कार्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
उनलाई पाँच ओटा सहकारी ठगीको बारेमा बयान लिन रुपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो ।