काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनको अभियोगसहित ३ मुद्धा लागेका पूर्व गृहमन्त्री रवि लामिछानेको बयान अझै सुरु भएको छैन । सोमबारदेखि बयान जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा भइरहेकामा रविको पालो अझै नआएको हो ।
सोही प्रकरणमा जोडिएका पूर्वडीआइजी छविलाल जोशीको बयान भने सोमबार शुरु भएर मंगलबार सकिएको थियो । मंगलबारदेखि नै लीला पछाईको बयान शुरु भएको छ । बुधबार सार्वजनिक बिदा भएकाले लीलाको बयान आज पनि हुनेछ । लीलाको सकिएपछि सम्भवतः रामबहादुर खनालको बयान हुन सक्ने बताइएको छ । रविसँगको बयान लामो हुने भएकाले उनको पालो अन्तिममा आउन सक्ने बताइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेको बयान बुधबार मात्रै सुरु हुन सक्ने बताइन्छ ।
बयानका लागि रवि, लीला, रामबहादुर खनाल र कृष्ण गुरुङलाई आज पनि अदालतमा उपस्थित गराइँदै छ । गुरुङ बिरामी परेका कारण मंगलबार अदालत लगिएको थिएन ।
उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूरमा आइतबार मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध दायर भएको अभियोगपत्र चार सय २७ पृष्ठ लामो छ । पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गरिएको छ ।
यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार तथा अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो । जसमा १९ जनाविरुद्ध संगठित अपराध र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा अघि बढाइएको हो ।
सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।सहकारी बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित काठमाडौं, चितवन, बारा र रुपन्देहीमा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
अदालतमा मुद्दा पुगेसँगै रविको सांसद पद निलम्बनमा परिसकेको छ । साथै उनको पार्टी रास्वपाले समेत उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापति तोकिसकेको छ ।
अदालतमा मुद्दा दायर हुँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र रवि पत्नी निकिता पौडेलको नाम पनि उल्लेख गरिएको छ । पुन सहकारीका बचतकर्तालाई विश्वास दिलाउने, आकर्षक ब्याजदरको प्रलोभन देखाउनेलगायतका कार्यबाट गैरकानूनी लाभ लिने कार्यमा संलग्न देखिएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।
पुनले आफूसँग मतभेद हुने व्यक्तिलाई सहकारीबाट राजीनामा गर्न लगाएको, आफू र आफ्नो समूहको नियन्त्रणमा राखी सोही समूहमा रहेका अर्का प्रतिवादी भूपेन्द्र राई समेतको मिलेमतोमा बुटवलस्थित सुप्रिम सहकारीमा सञ्चालक समितिको सचिव रहेको पाइएको छ ।
उनले काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीमा आफ्नो श्रीमती रविना आलेलाई सञ्चालकमा राखेर आफू अनुकुल निर्णय गराएको, सूर्यदर्शन सहकारीबाट ऋण लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
उनले बचत अपचलन गर्ने क्रममा आफ्नो वास्तविक नाम नलेखेको समेत खुलेको अभियोग पत्रमा उल्लेख छ ।
यसैगरी पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनलार्य प्रतिवादी कायम गरिएको बताइन्छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।
पूर्वसांसद गुरुङ
गण्डकी प्रदेशसभाकी पूर्व सांसद मीना गुरुङलाई पनि आजै अदालत उपस्थित गराइँदै छ । सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्षसमेत रहेकी गुरुङलाई मंगलबार साँझ पक्राउ गरिएको थियो । उनीसँगै सहकारीका पूर्वकोषाध्यक्ष आरती गुरुङलाई पनि अदालत उपस्थित गराइँदैछ ।
सौन्दर्यकर्मी व्यवसायीसमेत रहेकी मीना नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । उनी मजदुर संगठनकी नेता पनि हुन् ।
यस्तै सूर्यदर्शन सहकारी प्रकरणमै मीनाकै पिता ८० वर्षीय कृष्णबहादुर गुरुङसमेत परेका परेका छन् भने उनलाई पनि आजै अदालत उपस्थित गराईँदै छ । सम्भवतः उनीहरुको आज म्याद थप हुनेछ ।