नेभिगेशन
अदालत

बयानका लागि रवि लामिछाने कास्की अदालतमा

पोखरा पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताका रकम अपचलनको अभियोगसहित तीन मुद्धा लागेका पूर्वगृहमन्त्री  रवि लामिछानेलाई बयानका लागि अदालत लगिएको छ । 

सोमबारदेखि बयान जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा भइरहेकामा रविको पालो भने अझै आएको छैन । सोही प्रकरणमा जोडिएका पूर्वडीआइजी छविलाल जोशीको बयान भने सोमबार शुरु भएर मंगलबार सकिएको थियो । मंगलबारदेखि नै लीला पछाईको बयान शुरु भएको छ ।

बुधबार सार्वजनिक बिदा भएकाले लीलाको बयान आज पहिले हुँदैछ । लीलाको सकिएपछि सम्भवतः रामबहादुर खनालको बयान हुन सक्ने बताइएको छ । रविसँगको बयान लामो हुने भएकाले उनको पालो अन्तिममा आउन सक्ने बताइएको छ ।  

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । 

बयानका लागि रवि, लीला, रामबहादुर खनाल र कृष्ण गुरुङलाई आज पनि अदालतमा उपस्थित गराइएको छ । गुरुङ बिरामी परेका कारण मंगलबार अदालत लगिएको थिएन । 

उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूरमा आइतबार मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध दायर भएको अभियोगपत्र चार सय २७ पृष्ठ लामो छ । पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गरिएको छ ।

यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार तथा अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो । जसमा १९ जनाविरुद्ध संगठित अपराध र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा अघि बढाइएको हो ।

सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

सहकारी बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित काठमाडौं, चितवन, बारा र रुपन्देहीमा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

अदालतमा मुद्दा पुगेसँगै रविको सांसद पद निलम्बनमा परिसकेको छ । साथै उनको पार्टी रास्वपाले समेत उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापति तोकिसकेको छ ।

अदालतमा मुद्दा दायर हुँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र रवि पत्नी निकिता पौडेलको नाम पनि उल्लेख गरिएको छ । पुन सहकारीका बचतकर्तालाई विश्वास दिलाउने, आकर्षक ब्याजदरको प्रलोभन देखाउनेलगायतका कार्यबाट गैरकानूनी लाभ लिने कार्यमा संलग्न देखिएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

पुनले आफूसँग मतभेद हुने व्यक्तिलाई सहकारीबाट राजीनामा गर्न लगाएको, आफू र आफ्नो समूहको नियन्त्रणमा राखी सोही समूहमा रहेका अर्का प्रतिवादी भूपेन्द्र राई समेतको मिलेमतोमा बुटवलस्थित सुप्रिम सहकारीमा सञ्चालक समितिको सचिव रहेको पाइएको छ ।

उनले काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीमा आफ्नो श्रीमती रविना आलेलाई सञ्चालकमा राखेर आफू अनुकुल निर्णय गराएको, सूर्यदर्शन सहकारीबाट ऋण लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

उनले बचत अपचलन गर्ने क्रममा आफ्नो वास्तविक नाम नलेखेको समेत खुलेको अभियोग पत्रमा उल्लेख छ ।

यसैगरी पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनलार्य प्रतिवादी कायम गरिएको बताइन्छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।

पूर्वसांसद गुरुङलाई पनि अदालत लगियो

गण्डकी प्रदेशसभाकी पूर्व सांसद मीना गुरुङलाई पनि आजै अदालत उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्षसमेत रहेकी गुरुङलाई मंगलबार साँझ पक्राउ गरिएको थियो । उनीसँगै सहकारीका पूर्वकोषाध्यक्ष आरती गुरुङलाई पनि अदालतमा उपस्थित गराइँदैछ ।

सौन्दर्यकर्मी व्यवसायीसमेत रहेकी मीना नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । उनी मजदुर संगठनकी नेता पनि हुन् । 

यस्तै सूर्यदर्शन सहकारी प्रकरणमै मीनाकै पिता ८० वर्षीय कृष्णबहादुर गुरुङसमेत परेका परेका छन् भने उनलाई पनि आजै अदालत उपस्थित गराईँदै छ । सम्भवतः उनीहरुको आज म्याद थप हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्