नेभिगेशन
अदालत

सहकारी प्रकरण: पूर्व गृहमन्त्री रवि लामिछानेको बयान आज पनि

पोखरा निलम्बित सांसद तथ पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज पनि जिल्ला अदालत कास्कीमा बयान हुँदैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविको बयान बिहीबारदेखि  अदालतमा सुरु भएको हो। सोमबारदेखि अन्यको बयान भएकामा उनको पालो बिहीबारदेखि आएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घन्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ । 

रविले अहिलेसम्म जति पनि बयान दिए र जहाँ पनि बयान दिएका छन् इन्कारी बयान नै दिएका छन् । सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्की प्रतिवादी लीला पछाईसँग बयान लिन शुरु भएको थियो । जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाएपछि यसै हिरासतमा फर्केका थिए।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । 

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागिमात्र प्रतिवादी कायम गरिएको छ । छवि पक्राउ परेको  ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।  

लामिछानेविरुद्ध भने तीन वटा कसूरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अभियोग पत्र दर्ता गरिएको छ । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिए पनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।  लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसूरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।  

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।  

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । हाल रवि कास्की प्रहरीको हिरासतमा बस्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्