नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जसहित विभिन्न स्थानबाट ठुलो परिमाणमा लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौं प्रहरीले बाँकेसहित देशका विभिन्न स्थानबाटलागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले नेपालगन्ज  उपमहानगरपालिका-९ पिलालीपूर्वाबाट  ९६ ग्राम ४ सय ९० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई गए राति  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज  उपमहानगरपालिका-१३ बस्ने ४० वर्षीय रहिस कवाडिया र सोही उपमहानगरपालिका-१६ जयसपुरका ४० वर्षीय बदरदिन जसगढ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट  खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-४ साराङ्ग चोकबाट ३७ किलो  गाँजासहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २३ वर्षीय तिर्थ दर्जी र सुनसरी बराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको  टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीभित्र प्लाष्‍टिकमा प्याक गरी लुकाईछिपाई राखेको गाँजा फेला पारी चालक तिर्थ र कारमा सवार कृष्णलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले उदयपुरको उदयपुरगढी गाउँपालिका-१ धेप्छेबाट ५५ किलो गाँजासहित ताप्ली गाउँपालिका-१ बस्ने ३६ वर्षीय चित्र बहादुर मगरलाई गए राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ शिखरपुरबाट बाहुनिटारतर्फ जाँदै गरेका उनलाई गाँजाको भारी फाली भाग्ने क्रममा पक्राउ गरेको  हो । साथै हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३८ वर्षीय नोनो तामाङसमेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले कैलालीको गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय कमलेश बमलाई खैरो हेरोइन ७ सय २० मिलिग्राम सहित शुक्रबार राति पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

जुम्लाको तातोपानी गाउँपालिका-५ बाट ७४० मिलिग्राम  खैरो हेरोइनसहित प्रहरीले ३ जनालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय नन्दराम नेपाली, २० वर्षीय पंकज सार्की र २१ वर्षीय प्रबेश नेपाली रहेका छन् । प्रहरी चौकी हाँकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट  ब्राउनसुगर १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-३ झण्डेनगर बस्ने २० वर्षीय आशिस शाहलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले नवलपरासी पश्चिमस्थित  सुनवल नगरपालिका-२ खुटहटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाईजेपाम १ सय ९० एम्पुल, ब्रुप्रेनोर्फिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्यापसुल सहित सुनवल नगरपालिका-२ खुटहट बस्ने २० वर्षीय भुवननाथ कुर्मी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    

सम्बन्धित प्रहरी कार्यालयले घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्