नेभिगेशन
सुरक्षा विशेष

घोराही सिमेन्टले ठगेको भन्दै श्रमिक आन्दोलनमा, गुनासो सुनुवाइ नगर्ने श्रममन्त्रीको मागे राजीनामा

काठमाडौं  । घोराही सिमेन्ट कम्पनीले ठगी गरेको भन्दै श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुमाथि कम्पनीले ठगी गरेको भन्दै घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । जोखिमपूर्ण काम गरेर पाउने तलबमा पनि झण्डै २५ प्रतिशत कमिशन काट्न थालेपछि श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । गुनासो सुनुवाइ नगरेको भन्दै उनीहरुले श्रममन्त्री डोलप्रसाद अर्यालको राजीनामासमेत मागेका छन् । 

अहिले सिमेन्टले श्रमिकहरुलाई प्रतिमहिना २० हजार रुपैयाँ तलब तोकेको छ । तर श्रमिकले काम गर्ने श्रमिकहरुलाई नियुक्तिपत्र नदिएर आउटसोर्स गरेर राखेको छ । त्यसरी आउटसोर्स गर्ने कम्पनीले तलब दिँदा प्रतिश्रमिक १५ हजारको दरमा दिँदै आएको छ । बाँकी पाँच हजार कमिशनको नाममा काट्ने गरेको पीडितहरुको भनाइ छ । 

अहिले सरकारले श्रमिकहरुको न्यूनतम तलब नै १८ हजार रुपैयाँ तोकेको छ । सिमेन्ट उद्योग स्वास्थ्यको हिसाबले नकारात्मक रहेकोले त्यसकोसमेत क्षतिपूर्ति हुने गरी तलब निर्धारण हुनुपर्ने हो । तर सिमेन्टको धुलो खाएर काम गर्दा ठगी भएको पाइएपछि उनीहरुले शनिबार उद्योग परिसरमै प्रदर्शन गरे । उनीहरुले ठेकेदार कम्पनीले घोराही सिमेन्टसँग आउटसोर्सबापत छुट्टै १० प्रतिशत कमिशन लिने गरेको भए पनि उल्टै तलबसमेत काट्ने गरेको गुनासो गरे । 

त्यस्तै उद्योगभित्र सुरक्षित उपकरण नभएको, स्वास्थ बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता समेत नदिने गरिएको उनीहरुको गुनासो छ । उद्योगले वातावरण प्रदूषणका मापदण्ड पूरा नगरेकाले स्थानीयवासीको स्वास्थ्यमा जोखिम रहेको समेत विरोध कार्यक्रममा सहभागीहरुले बताउँदै आएका छन् । 

सो विषयमा श्रमिकहरुले प्रमाणसहित श्रम मन्त्रालयमा दुई महिना  अघि उजुरीसमेत दिएका थिए । तर कारबाही गर्नुको सट्टा अहिलेसम्म सामान्य सोधपुछसमेत नगरेको श्रमिकहरुको दाबी छ । कम्पनी स्थापना भएको एक दशकमा २५ करोड रुपैयाँभन्दा धेरै गठी भइसकेको श्रमिकहरुको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्