काठमाडौँ । माओवादीले कब्जामा लिएर व्यक्तिको नाममा लैजान लागेको नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा घटनाको गम्भीर रूपमा छानबिन गरी दोषीमाथि कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापालाई उक्त घटनाबारे गम्भीर छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले सञ्चारमाध्यममा समाचार आएसँगै महानिरीक्षक कुँवर र एआईजी थापालाई बोलाएर उक्त प्रसङ्गबारे जानकारी लिँदै कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिएका छन्।
पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।
हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको हो । श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पहिलो कार्यकालमा स्वकीय सचिव थिए ।
तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाको आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा शेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रचण्ड २०७३ साउन ९ गते दोस्रोपटक प्रधानमन्त्री भएका बेलामा सापकोटा सचिव थिए । उनी पनि माओवादीनिकट कर्मचारी हुन् । प्रचण्ड प्रधानमन्त्री भएपछि अन्नपूर्ण फार्मिङमा श्रेष्ठको प्रवेश भएको थियो।
उनले त्यतिबेला ५ करोड ६७ लाख ५० हजार रुपैयाँ लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयबाट उपलब्ध कागजातमा पाइएको मिडियो रिपोर्टमा उल्लेख छ ।
सो सम्बन्धमा मिडियामा समाचार पनि आए । विशेषगरी नागरिक दैनिकले निरन्तर समाचार प्रकाशन गरेको थियो ।
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुँदा सीआईबीमा परेको उजुरीमाथि छानबिन गर्न खोज्दा रोकिएको थियो ।
त्यतिबेला सीआईबी प्रमुखमा किरण बज्राचार्य थिइन् भने माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए । तत्कालीन गृहमन्त्रीले यो विषयमा अनुसन्धानलाई अघि बढाउन खोज्दा पनि प्रधानमन्त्रीले रोकेका थिए ।