नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनाको उद्धार गरिएको छ । माइती नेपाल नेपालगञ्जले सन् २०२४ मा भारत लगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा आज गरिएको मानव बेचविखन तथा ओसारपसारविरुद्ध संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले काम, विवाह, घुमघाम, किनमेल लगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि ५ सय ९८ जनालाई फिर्ता गरिएको जानकारी दिए ।
संयोजक कोइरालाले एक वर्षमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको बताए । त्यसमध्येमा ४ सय ७ जना फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको छ । त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।
उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको बताए । उनले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धि काम गरिरहेको बताए । माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारत लगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको कोइरालाले बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन सामाजिक कलंक र संगठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न मिडियाको अहम् भूमिका हुने बताए । गिरीले मानव बेचबिखन विरुद्ध पत्रकार तथा सञ्चारकर्मीले आवाज बुलन्द गर्नुपर्ने बताए । मानव बेचविखन विश्वब्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कुटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा गिरीको जोड छ । मानब बेचबिखन विरुद्ध प्रत्येक नागरिक सजग हुन जरुरी रहेको उनको भनाई छ।
कार्यक्रममा पत्रकारहरु निरज गौतम, अर्जुन ओली, दुर्गा रोकाय, विजय मल्ल लगायतले जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।