नेभिगेशन
नेपाल प्रहरी

अवैध उत्खनन गर्ने गिरोहसँग धामपुर चौकीका सईको राम्रै साँठगाँठ, निर्धक्कले महिनावारी लिँदै

राप्तीसोनारी ( बाँके )। बाँकेको राप्तीसोनारी गाउँपालिकाको धामपुर (बैजापुर) चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) कमल थापा नदीजन्य पदार्थको  अवैध उत्खनन गर्ने गिरोहसँग राम्रै साँठगाँठ  गर्दै असुली धन्दातर्फ लागेका छन् । 

नेपालगन्जको इलाका प्रहरी कार्यालय जयसपुरको इन्चार्जको कार्यकाल सकिए लगत्तै माथिल्लो आशीर्वाद पाएर सिधै धामपुर चौकीको इन्चार्ज बनेका सई थापाप्रति स्थानीय मात्रै नभएर जनप्रतिनिधिसमेत रुष्ट बन्दै गएका छन् ।  आफूलाई माथिल्लो आशिर्वाद रहेको र कसैले सरुवा गराउन समेत नसक्ने भन्दै सर्वसाधारणलाई धम्क्याउदै खोलाबाट अवैध उत्खनन गर्नेहरुसँग गतिलै सम्बन्ध बनाएको राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीन कुमार थारुले बताए।

गाउँपालिकाको वडा नम्बर ३ सिनावास भएर बग्ने राप्ती नदीबाट ढुङ्गा,गिट्टी लगायत बालुवाको अवैध तस्करी गर्नेलाई कार्यालयमा बोलाएर असुली गरिरहेको र सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि ल्याउदै गर्दा उनीहरुका ट्याक्टर भने सई थापाले नियन्त्रणमा लिइने गरेको अध्यक्ष थारुले भने।

केही दिनअघि अध्यक्ष थारुले रातिमा खोलामा अवैध उत्खनन भइरहेको सूचना सई थापालाई दिएका थिए। तर थापाले जनप्रतिनिधिले जानकारी गराएको कुरा अवैध उत्खनन गर्ने ट्याक्टरवालालाई सूचना दिएर भगाएको थारुले बताए।  त्यसको एक दिनपछि सिनावासमा अवैध उत्खननका लागि ट्याक्टर र जेसीबी खोलामा गएको भनेर अध्यक्ष थारुले सई थापालाई जानकारी गराएका थिए। सई थापाले त्यस रात आफै खोलामा गएर ५ वटा ट्याक्टर र एउटा जेसीबी नियन्त्रणमा लिएका थिए।

तर, त्यसै रातमा धामपुर चौकीमा सबै अवैध उत्खनन प्रयोग भएका सवारीसाधनलाई जनप्रतिनिधिलाई जानकारी नगराएर कागज गराएर छोडेको अध्यक्ष थारुले जानकारी दिए। त्यसमा पनि सईले आर्थिक लेनदेन गरेको आफूले जानकारी पाएको थारुले भने। त्यस रात १२ बजे सवारीसाधन छोडेर बिहान ७ बजे मात्र वडाध्यक्ष थारुलाई सई थापाले खबर गरेका थिए।

अध्यक्ष थारुले सईलाई किन छोडेको भन्ने प्रश्नमा ती सईले ती सवारीसाधन खाली भएकोले छोडेको बताएका थिए। तर त्यसबाट नै रकम असुली गरेको प्रष्ट देखिन्छ । थारु भन्छन् -" अवैध उत्खननका लागि राति खोलामा जाने जेसीवी र ट्याक्टर खाली भएर छोडेको भन्दा आफै अचम्मितमा परेको छु।" त्यस्ता गैर जिम्मेवार सईको के काम छ? त्यस्तालाई इन्चार्ज बनाएर पठाउनुमा सिधै कमाएर आउँनु भन्न खोजिएको अध्यक्ष थारुले भने।

त्यहाका स्थानीयहरु भन्छन्-" सई थापा लगाम बिनाका घोडा जस्तै भएका छन् । उनलाई कसैको डरत्रास नै छैन्।"

इन्चार्ज सई थापाले अवैध उत्खनन गर्ने एउटा ट्याक्टरबापत मालिकसँग मासिक ५ हजार रुपैयाँका दरले असुली गरेको स्थानीयहरुले आरोप लगाएका छन्।

राप्तीसोनरी-४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले पनि सई थापाको कार्य गलत रहेको बताउँदै शान्तिसुरक्षा दिन आएको एउटा प्रहरी इन्चार्ज खुलेयाम अवैध तस्करी धन्दामा लागेको देख्दा अचम्म लागेको बताए। खड्का भन्छन्-" बाँकेका प्रहरी प्रमुखले यो कुरा थाहा नपाएको होकि थाहा पाएर पनि चुप लागेको हो, बुझ्न सकिएन।"

'यति मात्रै होइन सई थापा आए लगत्तै पनि गोरु तस्करीमा सहयोग गरेको आरोप लागिएको समेत  थियो। तर माथिल्लो आशीर्वादले नै होला उनलाई कसैले केही गर्न नसकेको' अध्यक्ष खड्काले भने।

नदीमा टेण्डर नहुँदै सई थापाको असुली धन्दाले खोलामा नदीजन्य पदार्थ नै सकिन थालेको स्थानियहरु बताउँछन् । चोरलाई केही नगर्ने सोझासाझा जनतालाई दुख दिने ती सईविरुद्ध जिल्ला प्रशासन कार्यालयमै ज्ञापनपत्र बुझाउन जाने समेत सोच बनाएको त्यहाका स्थानीयहरु बताउँछन् ।

यति मात्रै होइन वडा नम्बर ३ मा लाग्ने भुवँरभवानी मेलाको टेण्डरमा पनि सई थापाकै मिलेमतोले अरुलाई टेण्डर हाल्न समेत नदिएको वडाध्यक्ष थारुले बताए। थारुका अनुसार सई थापाले असुली लेनदेनवालालाई मात्र टेण्डर हाल्न लगाएर अरुलाई आफै रोकेका थिए।

तर,यता सई थापाले आफूलाई लगाइएको आरोप सबै निराधार भएको बताए। राम्रो काम गर्दा गर्दै यसरी आरोप लगाइदा अति दुखित भएको उनले भने। नदीजन्य पदार्थको अवैध तस्करीमा संलग्न भएकाहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदै सई थापाले आफूले कोहीबाट रकम नलिएको बताए। स्थानीयहरुले पनि राम्रो काम गर्न खोज्दा आरोप लगाएको उनी बताउँछन् ।

सई थापाले भुवँर भवानी मेलाको टेण्डरका सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जानकारी गराए । म एउटा प्रहरी हुँ, टेण्डर प्रक्रियामा सम्बन्धित निकायलाई सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउँदै आफ्नो यसमा कुनै सम्बन्ध नै नरहेको उनले बताए।

उनले भने-" मैले आफै सोही टेण्डर पार्नेकै ट्याक्टर नियन्त्रणमा लिएको छु, यदि सम्बन्ध हुन्थ्यो भने के मैले त्यो ट्याक्टर नियन्त्रणमा लिन्थे र?" क्रमशः 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्