नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

हमासले ३४ बन्धक रिहा गर्न लाग्दा नेपालका विपीन जोशीको के छ अवस्था?

काठमाडौँ इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीचको युद्ध ( गाजा युद्धविराम सम्झौता) अन्तर्गत पहिलो चरणमा हमासले इजरायलबाट बन्धक बनाइ लगेका ३४ जनालाई रिहा गर्न सहमत भएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धक सार्वजनिक गर्ने जनाएका हुन् । हमासले ३४ बन्धक छाड्ने भने पनि तिनीहरुमध्ये कति जीवित वा मृत के छन् भन्ने अझै स्पष्ट भएको छैन । 

छाड्ने सूचीमा १० महिला र ११ वृद्ध रहेका छन् । बाँकी युवा पुरुषको नाममा कतिपय हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेकाहरुसमेत रहेको पाइएको छ । 

बीबीसीका अनुसार हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।यद्यपि इजरायलबाट भने कुनै सूची सार्वजनिक भएको छैन । अर्थात् इजरायलले अहिलेसम्म आफूलाई कुनै सूची हमासले उपलब्ध नगराएको जनाएको छ । 

के होला नेपालका विपीनको अवस्था ?

इजरायलमा अध्ययन गरिरहेका बेलामा हमासले आक्रमण गर्दा नेपाली विद्यार्थी विपीन जोशी पनि अपहरणमा परेका थिए । 

हमासले बन्धक बनाएका उनको अवस्था अहिलेसम्म अज्ञात छ । यसअघि हमासले थुप्रैलाई रिहा गरेको भए पनि विपीनलाई भने रिहा गरेको थिएन । 

अहिले रिहा गरिने भनिएको ३४ बन्धकको सूचीमा विपीनको नाम भए–नभएकोसमेत स्पष्ट भएको छैन ।

उनको रिहाइका लागि नेपाल सरकारले थुप्रै प्रयास गरेको भए पनि सफल भने हुन सकेन । सरकार फेरियो तर बन्धक विपीनको अज्ञात अवस्थाबारे जानकारी फेरिएन । 

नेपालले कूटनीतिक पहल पनि थुप्रै पटक गरेको थियो । तत्कालीन परराष्ट्र मन्त्री एनपी साउददेखि लिएर हालकी परराष्ट्र मन्त्री आरजू राणा देउवाले पनि कूटनीतिक पहल गरी विपीन रिहाइको पहल गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्