नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेर आबश्यक अनुसन्धान थालेको छ। 

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय ट्याब्लेट र ट्रामाडोल ३ सय ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-१२ बस्ने २२ वर्षीय दिपसन राई समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको  उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र आईपीपीएल १ सय ५० एम्पुल सहित नवलपरासी पश्चिम पाल्दिनन्दन गाउँपालिका-३ बेलपुर बस्ने २१ वर्षीय अनिल प्रसाद गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ५४२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

त्यसैगरी ,धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तेह्रथुम, लालीगुराँस नगरपालिका-२ बसन्तपुर बस्ने ३२ वर्षीय विकाश श्रेष्ठ, मेन्छयायेम गाउँपालिका-६ थाम्वेन बस्ने २६ वर्षीय राजिव सम्वहाम्फे, धनकुटा, धनकुटा नगरपालिका-१ हिले सिरान बस्ने २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको को.२६ प ९२९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार विकाश र राजिवलाई करिब २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ केवल र सुजनबाट खरिद गरेको खुल्न आएपछि प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले केवल र सुजनलाई समेत करिब ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाराको पचरौता नगरपालिका-४ इनर्वाटोलबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही टोल बस्ने ४७ वर्षीय राम सेवक प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट ‍खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उता झापाको  दमक नगरपालिका-६ पूर्व बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ९० ट्याब्लेट र ट्रमानिल २ सय ९० ट्याब्लेट सहित दमक नगरपालिका-८ बस्ने २२ वर्षीय नरेश खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८३ ट्याब्लेट र डिभोक्सिन २४ ट्याब्लेट  सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमौली बस्ने २५ वर्षीय बिजय घिसिङ, सोही नगरपालिका-६ लोथर बस्ने २७ वर्षीय कुल बहादुर थिङ र चितवन राप्ती नगरपालिका-१ बस्ने २६ वर्षीय राजेश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २० वर्षीय सुवाष थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्