नेभिगेशन
सशस्त्र प्रहरी

छानबिनका लागि झिकाइएका सशस्त्र प्रहरीका ४ एसपी जिल्ला फर्किए, उनीहरुमाथि कडा निगरानी सुरु

काठमाडौं सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिनका लागि बोलाइएका ४ जिल्लाका सशस्त्र प्रहरी प्रमुखलाई फिर्ता पठाएको छ।

जनगुनासो आएर मुख्यालय झिकाइएका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी, विश्व खड्का, बिमल डाँगी र सन्तोष बहादुर सिंहलाई आइतबार सम्बन्धित जिल्लामा फिर्ता पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले राजस्व संकलनको कमी पत्ता लगाउन गरिएको सोधपुछपछि आचारण सुधार गर्नुपर्ने भन्दै धनुषाका एसपी गिरी र बाराका एसपी सिंहलाई मधेस प्रदेशका डीआईजी कालीदास धौबोजी, मोरङका एसपी खड्कालाई एसएसपी मनिष थापा र बाँकेका एसपी डाँगीलाई लुम्बिनीका डीआईजी प्रदीप कुमार पालको जिम्मा लगाएर पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतले जानकारी दिएको छ।

उनीहरुलाई राजस्व संकलनमा अब उपरान्त कमी हुन नदिने बाचासहित जिल्ला फिर्ता पठाइएको हो। उनीहरुसहित अन्य प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपी प्रमुखहरुलाई पनि बोलाइएको थियो। ती सबै सशस्त्र प्रहरी अधिकृतहरुलाई व्याबहार सुधार गर्न निर्देशन दिदै पठाइएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई फिर्ता पठाए पनि कडा निगरानी सुरु गरेको बताइएको छ।उनीहरुलाई पुसको दोस्रो साता मुख्यालय झिकाइएको थियो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्