नेभिगेशन
सशस्त्र प्रहरी

सरकारले गर्‍यो सशस्त्र प्रहरीका ४ डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलका४ डीआईजीहरुको पदावधि १ वर्ष थप गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले सशस्त्रका ४ डीआईजीहरुको पदावधि थप गर्ने निर्णय गरेको हो।

यसरी पदावधि थप हुनेहरूमा नं.१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी छन्।

आज म्याथ थपको निर्णय नभएको अवस्थामा उनीहरू अवकाशमा जाँदै थिए । सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चारवर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग)अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैछ । यो व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

पदावधि थप भएसँगै उनीहरूमध्ये एकजना संगठनको नेतृत्वमा पुग्ने सशस्त्र प्रहरीका अधिकृतहरू बताउँछन् । म्याद थप गरिएका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । ४ जनाको म्याद थप भएसँगै सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू नेतृत्वमा पुग्नबाट रोकिने भएका छन् । मन्त्रिपरिषद्को सो निर्णयसँगै सिसम–१ का अधिकृतहरू डीआईजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्ने सम्भावना बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्