नेभिगेशन
ट्राफिक प्रहरी

बाँके ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरणमा सक्रियता,'सबैको सहयोगको आशा छ': प्रमुख पन्त

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सडक दुर्घटना न्यूनीकरणका लागि गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन् । 

पुस १ गतेदेखि बाँके ट्राफिक प्रहरीले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएको पाइएको हो। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तका अनुसार विशेषगरी बाँके ट्राफिक प्रहरीले चालक सहचालकलाई जनचेतनामूलक कक्षा सञ्चालन र सडकमा हिड्ने पैदलयात्री सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रुपमा गर्दै आएको छ । 

दुर्घटना न्यूनीकरणमा  विशेष गरी सवारी चलाउनेविरुद्ध अभियान, मापसे जानकारी , ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक सचेतना कार्यक्रममार्फत पुस १ गतेदेखि पुस २३ गतेसम्म ४७ सय  ८३ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्  । 

अघिल्ला महिनाको तथ्याङ्क हेर्ने  हो भने वर्तमान समयमा सवारी दुर्घटनाको संख्यामा पनि कमी आएको ट्राफिक प्रमुख पन्तले बताए। ट्राफिक प्रहरी प्रमुख पन्त भन्छन्-"हाल सवारी चालक, सहचालक, साइकल यात्री, पैदलयात्री,विद्यार्थी लगायत टोलटोलका स्थानीयहरुलाई ट्राफिक जनचेतनामूलक कक्षा दिइरहेको हुँदा दुर्घटना पनि कमी आएको छ।"

बाँके जिल्लाभरमा ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा राम्रो प्रतिफल मिलेको समेत देखिएको छ। यस्तो खाले सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणहरुले पनि ट्राफिक  नियमको पालनागरी सहयोग गर्नुपर्ने र सबैको सहयोगको खाँचो र सहयोगको आशा रहेको बाँके ट्राफिक प्रमुख पन्तले बताए।

बाँकेमा यस महिनामा मात्रै ट्राफिक प्रहरीले बाँकेले ७ सय ७८ जना विद्यार्थीहरुलाई ३९ पटक ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कक्षा दिएको छ भने १ पटक सामुदायिक सेवामार्फत दिइएको जनचेतनामूलक कार्यक्रममा ११४ जना सहभागी भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।

त्यसैगरी, नयाँ सवारी चालकहरुलाई ४ पटक दिइएको ट्राफिक नियमको जनचेतनामूलक कक्षामा २ सय १० लाभान्वित भएको र ३८ पटक व्यवसायीक चालकहरुलाई दिएको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कक्षामा ९ सय ८६ जना सहभागी भएका छन् ।

ट्राफिक प्रहरीले सर्वसाधारणहरुलाई ४० पटक दिएको जनचेतनामूलक कक्षामा १ हजार १६९ जना लाभान्वित भएका छन् । त्यस्तै ३० पटक चालकयात्रुलाई दिइएको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कक्षामा ९ सय ७६ जना सहभागी भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ। 

बाँके ट्राफिक प्रहरीका अनुसार ट्राफिक जनचेतनातर्फ पर्चा पम्प्लेटको ७ पटकमा ५ सय जना लाभान्वित रहदा ट्राफिक नियम तथा आरक्षण सिटको बारेमा जानकारी र आरक्षण सिट नभएका सवारीसाधनलाई आरक्षण सिटतर्फ २ पटक गरिएको सचेतनामा ५० जना लाभान्वित भएका छन् । त्यस्ता सवारीसाधनलाई आरक्षण सिटको व्यवस्था गर्न जानकारी गराइएको हो।

बाँके ट्राफिक प्रहरी, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी बाँकेको संयुक्त टोलीको प्रयासबाट उपमहानगरभित्र रहेका सडक पेटीमा राखिएका ९७ वटा  सवारीसाधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख पन्तले बताए।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्