नेभिगेशन
विपद घटना

अहिले शीतलहरको समय भएकाले सबैलाई यसको प्रतिकार्यमा जुट्न बाँकेका प्रजिअको आग्रह

विपद्को घडिमा मिडियाको आवश्यकता र अपरिहार्यता मनन गर्न पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीको सुझाव

नेपालगञ्ज बाँकेमा चिसो तथा शीतलहर प्रतिकार्यका लागि जिम्मेवार निकाय र सरोकारवालाई प्रभावकारी ढंगले परिचालन गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार जिम्मेवार निकाय, पदाधिकारी र सरोकारवालालाई प्रभावकारी ढंगले परिचालन गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बिहीवार बसेको बैठकमा यस्तो निर्णय गरिएको हो । 

बैठकमा हाल चिसो तथा शीललहरको सम्भावना कायमै रहेकाले त्यसको पूर्व तयारी तथा प्रतिकार्यका लागि संघसंस्थाबाट हुने गतिविधिका बारेमा छलफल भएको छ । बैठकले आगामी माघ २ गते मनाइने २७औं भूकम्प सुरक्षा दिवसमा साप्ताहब्यापी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । दिवसका अवसरमा माघ १ गतदेखि एक हप्ता एफएम रेडियोबाट भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारी सम्बन्धि जनचेतनामूलक सूचनाहरु र परिसम्बाद कार्यक्रम प्रशारण गर्ने, सबै स्थानीय तहमा भूकम्प सुरक्षा र्याली, भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता सम्बन्धि अभिमुखीकरण तथा सामूहिक प्रतिबद्धता, जिल्लाभर भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता सम्बन्धि सन्दर्भ सामग्री छपाई तथा वितरण, नेपालगञ्जमा माघ ४ गते भूकम्प सचेतना सम्बन्धि कृत्रिम घटना अभ्यास गरिने भएको छ । यसपटक 'भूकम्पले सिकाएको पाठ:' बलिया संरचना र सुदृढ पूर्व तयारीका साथ' भन्ने नाराका साथ २७औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । 

यस्तै विपद्का क्षेत्रमा भएका गतिविधि तथा कार्यक्रबारे नियमितरुपमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा प्रतिवेदन उपलब्ध गराउने, विपद ब्यवस्थापन सम्बन्धि क्रियाकलापहरु प्रभावकारी बनाउन हरेक ६-६ महिनामा नियमित बैठक बस्ने लगायतका निर्णय भएका छन् । 

बैठकमा  प्रमुख जिल्ला अधिकारी रिजालले शीतलहर चल्ने समय भएकाले सबैलाई यसको पूर्व तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरे । उनले सर्वसाधारणलाई चिसो र शीतलहरबाट जोगाउन जिल्लामा हालसम्म भएको पूर्व तयारीबारे जानकारी दिए । सबैजसो स्थानीय तहले आगो ताप्ने व्यवस्थाका लागि आवश्यक दाउरा र न्यानोका लागि कम्बलको ब्यवस्थापन गरेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी रिजालले भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी ढंगले मनाउने गरी लाग्न पनि आग्रह गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले विपद् व्यवस्थापन लगायत संघसंस्थाका विविध गतिविधि र क्रियाकलापमा मिडियासंगको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । गिरीले मिडियाको आवश्यकता र अपरिहार्यता मनन गर्न आग्रह समेत गरे । 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीद्वय उमाकान्त अधिकारी र खडानन्द खत्री, सशस्त्र प्रहरीका एसपी विमल डाँगी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विषयगत सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्