नेभिगेशन
सुरक्षा विशेष

राप्तीसोनारीको १६ औं गाउँसभाले पारित गर्‍यो गाउँ प्रहरी संचालन सम्बन्धी कार्यविधि

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा आइतबार भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप निर्माण गरिएका करिव एक दर्जन कार्यविधि, ऐन तथा मापदण्ड पारित गर्दै गाउँ प्रहरी संचालन गर्ने कार्यविधि समेत पारित गरेको गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए । 

उनका अनुसार ८ वटा कार्यविधि, १ वटा नीति, १ वटा मापदण्ड र १ वटा ऐन गाउँसभामा पेश भएका थिए । ती सबै ऐन, कार्यविधि र मापदण्ड पारित भएको प्रवक्ता खड्काले बताए । गाउँ प्रहरी (व्यवस्थापन तथा संचालन)  सम्वन्धी कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको शिक्षक तथा कर्मचारी छनौट कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको भू उपयोग मापदण्ड, राप्तीसोनारी आधारभूत अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि पारित भएको छ ।

त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी नीति, राप्तीसोनारी गाउँपालिका क्षेत्रको नीजि जग्गाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो तथा खनिज जन्य प्राकृतिक स्रोत साधन (संकलन र उपयोग), विक्री वितरण सम्वन्धी मापदण्ड र राप्तीसोनारी गाउँपालिकाको (स्थानीय वन ऐन २०७८) पहिलो संशोधन सहित पारित भएको छ ।

 त्यसैगरी राप्तीसोनारी गाउँपालिकाको बालविवाह मुक्त अभियान संचालन कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको बालश्रम मुक्त घोषणा कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि र राप्तीसोनारी गाउँपालिकाको बाल अधिकार कार्यान्वयन गर्न बनेको कार्यविधि पनि पारित भएको छ । 

गाउँसभामा उपाध्यक्ष मनिषा सिंह थारु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विषयगत समितिका संयोजकहरुले चालु आर्थिक वर्षको मध्यवधी प्रगति विवरण पेश गरेका थिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्