नेभिगेशन
नेपाल प्रहरी

एआईजी, डीआईजी र एसएसपीमा बढुवा भएका भएका ८ उच्च प्रहरी अधिकृतले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा भएकाहरुले दर्ज्यानी चिन्ह पाएका छन् ।

पुस २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार एआईजीमा बढुवा भएका कुबेर कडायत र रविन्द्र केसीलाई प्रहरी प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यनी चिन्ह प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी कुँवरले एआईजीद्वय कडायत र केसीसँगै डीआईजी ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलियालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोही अवसर आईजीपी कुँवरले प्राविधिक एसएसपी लालबाबु गिरीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दर्ज्यानी चिन्ह प्रदान समारोहमा आईजीपी कुँवरले बढुवा भएकाहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै व्यक्तिगत सुविधा र खुशी भन्दा माथि राख्दै पदिय जिम्मेवारी र जवाफदेहीता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिएका हुन् ।

प्रहरी प्रमुख कुँवरले संगठनको विकास र सुदृढिकरणको लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेशागत निष्ठा, व्यावसायिकता, इमानदारीता र धैर्यतालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन समेत उपस्थित रहेका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

डीआईजी कार्कीसहित ५ जना र प्राविधिक एसएसपी गिरीलाई पुस २८ गतेको निर्णयअनुसार डीआईजी र एसएसपीमा बढुवा गरिएको थियो 

प्रहरी प्रधान कार्यालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको नक्सालले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्