नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर १९ वर्ष ४ महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकि रहेका ६५ फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
फरार ती प्रतिवादीहरुलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
त्यसैगरी नेपालगन्जबाट १२ लाख ९४ हजार १५८ रुपैयाँ बराबरको भारतबाट अबैध रुपले भन्सार छलिको गरेर अवैध सामान जिल्ला प्रहरीले बाँकेले बरामद गरेको छ।
जिल्ला प्रहरी बाँकेमा दर्ता भएका ११७ वटा मुद्दामा १२१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउँदा ५३ वटा पेण्डिङ मुद्दाहरु फर्छयौट गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ। दर्ता भएका ६८१ ठाडो उजुरीतर्फ ६६८ फर्छयौट भएको र १३ वटा बाँकी निबेदन फर्छयौट प्रक्रियामा रहेका छन् ।
जिल्ला प्रहरी बाँकेले गरेको पुस महिनामा लागुऔषधतर्फको कारबाहीमा २६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८ ट्याब्लेट र ट्रामाडोल ३६७ ट्यावलेट लागुऔषध सहित २९ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरेको हो।
त्यस्तै जिल्लाभरमा गरिएको ट्राफिक कारवाहीतर्फ ३ हजार ५७ वटा सावरीसाधनलाई कारवाही गर्दै २४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ भने अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टर, एउटा टिप्पर र एउटा जेसीबीलाई नियनत्रणमा लिएर ४८ हजार ८ सय रुपैयाँँ जरिवाना गरेको प्रहरीले जानकारी दिएको छ। सोही दौरानमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र ब्यवहार मुद्दामा कारबाही गरेको हो।
त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ४ वटा मोटरसाइकल र १० वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने जानकी गाउँपालिकामा जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका महिला तथा बालबालिकासँग सम्बन्धित १३ मुद्दातर्फ १६ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको थियो भने घरेलु हिंसा सम्बन्धि ५० वटा उजुरीमा ४७ वटा फर्छयौट भएको र बाँकी अनुसन्धान प्रक्रियामा रहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
प्रहरीले हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धि ४४ निबेदनमा ३२ जनालाई फेला पारेर घर परिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको जानकारी दिएको छ।
समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामुलक कार्यक्रम गरेको छ । जसमा लैङ्गिक हिंसा, लागुऔषध सम्बन्धी सचेतना, आत्महत्या सम्वन्धी सचेतना, अल्पशंख्यकसँग प्रहरी, नागरिक सुनुवाई, शीतलहर सचेतना र चोरी सम्बन्धी सचेतना लगायतका कार्यक्रम संचालन गरेको बाँके प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी जिल्लाभरमा ट्राफिक प्रहरीले गरेको २ सय २ वटा सचेतनामुलक कार्यक्रम गरेको थियो । सचेतना कार्यक्रम अन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट लगायत रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
प्रहरी भित्रको आन्तरिक सुदृढीकरण प्रयासतर्फ जिल्लाभरको २०८१ पुसको उत्कृष्ट प्रहरी इकाई अफ द मन्थ प्रहरी चौकी राधापुर घोषित भएको हो भने जिल्ला प्रहरी कार्यालयभित्रको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्याकरण गरि सेवाग्राही मैत्री वातावरण तयार पारिएको जिल्ला प्रहरीले बाँकेले जनाएको छ।