नेपालगञ्ज । बाँकेका स्थानीय तह विपद व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज भएको अन्तरपालिका सञ्जाल विस्तार र अनुभव आदानप्रदान विषयक गोष्ठीमा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि सहकार्य गर्ने विषयमा प्रतिबद्धता ब्यक्त गरिएको छ ।
विपद विरुद्ध एकजुट भएर अघि बढ्न नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा अन्तरपालिका सञ्जाल समेत गठन गरिएको छ ।
'विपदका बेला एकले अर्कोलाई भरथेग गर्ने, प्राविधिक सहयोगदेखि लिएर जनशक्ति तथा स्रोत परिचालनमा साझेदारी गरेर जाने तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो,' नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्टले भने'-विपद व्यवस्थापनका तीन महत्वपूर्ण पक्ष पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभका लागि सबै पालिकाले आ-आफ्नो स्रोत र सामथ्र्यलाई एकीकृत गर्न सके विपद विरुद्ध सशक्त ढंगले अघि बढ्न सकिन्छ।'
सहरी विपद तथा पूर्व तयारी परियोजना सुपरको प्राविधिक सहयोगमा आयोजित गोष्ठीमा सबै पालिकाले आ(आफ्नो अनुभव र विपद व्यवस्थापनका लागि भएका काम र प्रयास तथा भावी योजनाका बारेमा अनुभव आदानप्रदान गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले सुपरको सहयोगमा घर आवास बीमा योजना लागू, विपद व्यवस्थापनका लागि नगरमा ४०० जना दक्ष जनशक्ति उत्पादन, व्यवसायिक निन्तरता योजना निर्माण लगायतका काम गर्न सफल भएको बताए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल र खजुराका अध्यक्ष डम्बर बहादुर विक तुफानले विपद व्यवस्थापनका लागि नीति, कार्यविधि, ऐन र कानुन निर्माण गरेर काम गरिरहेको बताए । स्थानीय विपद व्यवस्थापन समितिलाई वडा तहसम्म विस्तार गरिएको उनीहरुको भनाई छ । गोष्ठीमा कोहलपुर नगरपालिकाका तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर राना लगायत अन्य पालिकाका प्रतिनिधिले पनि अनुभव आदानप्रदान गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपसंयोजक सीता कार्कीले विपद व्यवस्थापनका लागि सबै स्थानीय सरकारबीच सहकार्य र साझेदारी जरुरी रहेको बताइन्। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विपद पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापनाका चरणमा सबै स्थानीय तहले साझा कार्यनीति र धारणा बनाउन सके त्यसले सार्थक परिणाम दिने बताए । गोष्ठीमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
त्यसक्रममा सुपर को(अर्डिनेटर सिद्धार्थ शर्माले अघिल्लो चरणमा सुपरले गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । अहिले सुपरको दोस्रो चरणका कार्यक्रम चलिरहेको शर्माले बताए । शर्माका अनुसार अगस्ट २०२४ देखि सुरु भएको दोस्रो चरणको कार्यक्रम जुलाई २०२६ सम्म चल्नेछ । यसअघि पहिलो चरण पनि दुई बर्ष चलेको थियो । सुपरले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ लाई लक्षित गरेर परियोजना सञ्चालन गरिरहेको छ । नेपालगञ्जमा साढे दुई बर्षदेखि यो परियोजना सञ्चालनमा छ ।
कार्यक्रमको सञ्चालन नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का लगायतको उपस्थिति थियो ।