काठमाडौं । नेपाल र भारत डीआईजी स्तरीय समन्वयात्मक बैठक लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच पाल्पाको तिनाउमा डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
पाल्पाको तिनाउमा सशस्त्र प्रहरी बल नं.५ विन्ध्याबासिनी बाहिनी रुपन्देहीद्वारा आयोजित डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण लगायत प्रमुख विषयवस्तुमा छलफल भएको सशस्त्र प्रहरी बल नं.५ विध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीले जानकारी दिएको छ।
विध्याबासिनी बाहिनीका अनुसार बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणसहित समयमै सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने र दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण गर्ने सवालमा गहन छलफल भएको थियो।
त्यसौगरी बैठकमा सीमा नाकाबाट हुने अवैध तस्करी, मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलीगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करीे नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषय र त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिइने बारेमा छलफल गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
तिनाउस्थित लुम्बिनी केवलकार बुटवल हिलमा सम्पन्न भएको डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नं.५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी प्रदिप कुमार पाल र भारतीय सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खेरीका डीआईजी बी.विक्रमन र सेक्टर हेडक्वाटर गोरखपुरका डीआईजी मुन्ना सिंहको नेतृत्वमा सम्पन्न भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बैठकमा डीआईजी पालले छलफलको क्रममा उठेका सबै विषयहरुको कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औल्याउँदै समकक्षी निकायबाट भएको प्रतिवद्धताको प्रशंसा गर्दै थप सक्रियताका साथ कार्यक्षेत्रमा होमिन मातहत गणपतिहरुलाई निर्देशन दिएका थिए।
बैठकमा सशस्त्र प्रहरीका एसएसपी कमल प्रसाद तिउसीनाको स्वागत मन्तव्य राख्दै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु बारे अवगत गराएका थिए। एसएपी तिउसीनाले त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्दै यस्ता किसिमका नियमित बैठकहरुको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरु तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बताएका थिए।
समन्वयात्मक बैठकमा बाहिनी मातहत गणका प्रमुखहरु र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डरहरुको लगायतको उपस्थिती रहेको थियो । यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच डीआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिबी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।