तुलसीपुर । दाङस्थित दंगीशरण गाउँपालिकाका एक युवकको मृत्युु प्रकरणमा प्रहरीले दुई युवकलाई पक्राउ गरेपछि घटनाको रहस्य खुलेको छ।
दंगीशरण -२ कौवाघारीका २५ बर्षीय प्रेमबहादुर कुसारीको मृत्यु प्रकरणमा फरार रहेका दुई स्थानीय युवक छबिलाल डाँगी कोहलपुरबाट र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार क्षेत्रवाट पक्राउ गरेपछि गोली लागेर मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीले घटनापछि फरार रहेका डाँगी कोहलपुरबाट शनिबार दिउँसो र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार नजिकबाट शनिबार बेलुकी पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेपछि बयानका आधारमा स्थानीय जंगलमा फालेको अवस्थामा एउटा भरुवा बन्दुक पनि बरामद भएको प्रहरीलेले जानकारी दिएको छ।
चोरी शिकार गर्न गएका बखत प्रेमबहादुुरले आँफैले बोकेको भरुवा बन्दुक पड्किएर गोली लागेको हो वा पुरानो कुनै रिसिवीका कारण साथीहरुले नै योजना बनाई प्रेमबहादुर माथि बन्दुकबाट गोली हानेका थिए ? भन्ने बारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
माघ ३ गते बिहीबार अपरान्हमा प्रेमबहादुरमाथि बन्दुकको गाली लागेको थियो । प्रेमबहादुरसंगै गएका साथीहरुमध्ये छबिलाल डाँगी र पुष्प बस्नेतले भने उनी रुखबाट लडेर घाइते भएको बताएका थिए ।
दुबै खुट्टाको तिघ्रा,घुँडा लगाएतमा गोलीका छर्रा लागेका प्रेमबहादुरलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । राप्ती प्रादेशिक अस्पतालले घाइतेलाई बाँकेको नेपालगञ्जका लागि रिफर गरिदिएको थियो । सोही दिन राति नै उपचारका क्रममा प्रेमबहादुरको मृत्यु भएको थियो ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेमबहादुरको पोष्टमार्टम पछि परिवार जनले शब घर ल्याएका थिए । त्यही क्रममा प्रेमबहादुर रुखबाट लडेको नभइ उनीमाथि बन्दुकबाट गोली प्रहार भएको कुरा कसैले खोलेका थिए । त्यही भएर अन्तिम संस्कारका लागि घाटमा लैजान तयारी अवस्थामा प्रेमबहादुरको शव बारे बिबाद सुरु भएको थियो ।
शुक्रबार रातभर प्रेमबहादुरको शब गाउँ घरका मानिसले कुरेर बसे । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाको निर्देशनमा शनिबार बिहान फेरि दोस्रो पटक पोष्टमार्टमका लागि प्रेमबहादुरको शब भेरी अस्पताल नेपालगञ्जमा लगियो । दोस्रो पोष्टमार्टमबाट तिघ्राको भागपनि चिरफार ग¥यो । त्यसपछि बन्दुकका छर्रा फेला परे ।
शनिबार बेलुकी मात्रै अन्तेतिष्टका लागि आफन्त, गाउँ समाज जुटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप सोधपुछ र अनुसन्धान कार्य बाँकी रहेको हुँदा तथ्य कुरा बुझेर मात्रै प्रेमबहादुरको मृत्यु प्रकरण सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।